असार १९ —विनोद थापा विद्रोही

विश्वप्रसिद्ध धार्मिक नगरी बनारसको गङ्गाघाटमा १० वर्षसम्म दैनिक महाआरतीको अध्यात्मिक दीप प्रज्वलन गरेका अर्जुनधारा, झापाका आचार्य पण्डित प्रेम गौतमज्यू अहिले नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको पाथीभरा क्षेत्रमा नवदिने ‘गुप्त नव सत्र’ अन्तर्गत चण्डी पाठ र महारथ सम्पन्न गरिरहेका छन्।

३६ वर्षे उमेरमै गहिरो आध्यात्मिक अनुभव बटुलेका गौतमले भारतको काशी विश्वनाथ मन्दिर आसपासको आरती संस्कारमा दशक लामो योगदान गरेका थिए। अहिले ती अनुभवलाई नेपालका तीर्थभूमिमा बाँड्दै धार्मिक जागरण फैलाउने उद्देश्यले उहाँले विभिन्न स्थानमा चण्डी महारथ सत्र सञ्चालन गर्दै आउनुभएको छ।

यसै क्रममा ताप्लेजुङको सुप्रसिद्ध देवीस्थल पाथीभरा मन्दिर परिसरमा उहाँले असार शुक्ल पक्षमा ‘गुप्त नव सत्र’ सञ्चालन गर्दै नौ दिनसम्म चण्डी महारथी सम्पन्न गर्ने क्रम जारी छ।

तीनपटकको दिव्य साधना
चण्डी महारथीमा दिनको तीन सत्र रहेका छन् —
प्रातः सत्रमा शुद्ध उच्चारणसहित पाठ्य पारायण,
दिवा सत्रमा धार्मिक व्याख्यान र मन्त्र आराधना,
सायंकालीन सत्रमा विशेष पूजा तथा महारथ।

उनी  केवल सत्र सञ्चालक मात्र होइन, सहभागीहरूलाई चण्डीपाठ, आरती विधि, मन्त्रोच्चारण र ध्यानको अभ्यास गराउने प्रशिक्षकको भूमिकामा पनि देखिन्छन। उनले भने, “म आस्थालाई कर्ममा रूपान्तरण गराउन चाहन्छु। चण्डी महारथ केवल पाठ होइन, यो आत्मशुद्धिको माध्यम हो।”

देशका विभिन्न भागबाट भक्तजन पाथीभरा पुगेर सत्रको सहभागी भइरहेका छन्। स्थानीय युवाहरूसमेत महारथमा सहभागी भई मन्त्रपाठ सिक्दैछन्। पण्डित गौतमको मधुर उच्चारण, भावनात्मक व्याख्यान र शास्त्रीय विधिका कारण कार्यक्रम थप भव्य बन्न पुगेको छ।

पण्डित प्रेम गौतमले काशीबाट ल्याएको भक्ति चेतना नेपालमा विस्तार हुँदै जान थालेको देखिन्छ। झापादेखि ताप्लेजुङसम्म फैलिएको उनको अभियानले धार्मिक पर्यटन, तीर्थ जागरण र सांस्कृतिक आत्मगौरवको पुनर्निर्माणमा योगदान पुर्‍याइरहेको विश्लेषण गरिन्छ ।

भोलि सत्रको अन्तिम दिन पाथीभरा मन्दिर परिसरमा विशेष पूजाअर्चना, आरती, भजन, हवन र प्रसाद वितरणका साथ चण्डी महारथ समापन गरिने कार्यक्रम रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय