दमकमा कृषकलाई घार वितरण, आत्मनिर्भरता तर्फको बलियो पाइला
विनोद थापा “विद्रोही”

  • झापा, दमक‍
    — दमक नगरपालिकाले कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने र कृषकहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित आइतवार बिहान ११ बजे मौरीपालक कृषकहरूलाई मौरीको घार वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम दमक नगरपालिका कार्यालयको प्राङ्गणमा आयोजित गरिएको थियो।

दर्जनौं मौरीपालक कृषकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमले स्थानीय कृषि क्षेत्रमा नयाँ उत्साह थपेको छ। कार्यक्रमको प्रमुख आकर्षण नगरपालिकाकी उपमेयर रेगिना भट्टराई हुनुहुन्थ्यो, जसले मौरीघार कृषकहरूलाई हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रमको समन्वय कृषि विकास शाखा प्रमुख चन्दकला भट्टराईले गर्नुभएको हो भने, कृषक विकास शाखा प्रमुख कृष्ण भट्टराईले सञ्चालन गर्नुभएको थियो। उनीहरूले मौरीपालन व्यवसायलाई दीर्घकालीन आम्दानीको स्रोत बनाउने नगरपालिकाको योजनाबारे जानकारी गराउनु भयो।

उपमेयर रेगिना भट्टराईले मौरीपालनलाई ग्रामीण अर्थतन्त्र मजबुत बनाउने उपायका रूपमा लिँदै यस्तो कार्यक्रमलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो “कृषकहरूको जीवनस्तर सुधार्न यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम बन्न सक्छन्।”

यस कार्यक्रममार्फत मौरीपालनमा लागेका कृषकहरूले व्यवसायलाई विस्तार गर्न प्रोत्साहन पाएका छन्। उनीहरू भन्छन्, “पहिलो पटक यस्तो किसिमको सहयोग पाउँदा हामीमा आत्मबल बढेको छ। हामी अब मौरीपालनलाई गम्भीर व्यवसाय बनाउने तयारीमा छौं।”

कृषि क्षेत्रमै रोजगारी सिर्जना, मौलिक उत्पादनमा वृद्धि र आर्थिक सशक्तिकरण जस्ता बहुआयामिक उद्देश्यहरू बोकेको यो कार्यक्रमले दमक नगरपालिकालाई कृषि क्षेत्रमा अग्रणी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय