दमक, झापा | दमक एक्सप्रेस | २०८२/०४/०४

✍️विनोद थापा “विद्रोही”

दमक नगरपालिका–८ स्थित रतुवा खोलाको किनार, पश्चिमतर्फको दक्षिण साइडमा निर्माणाधीन गुड मर्निङ रोड अहिले हरियाली, सरसफाइ र स्थानीय सहभागिताको नमूना स्थल बन्दै गएको छ। नगरलाई हरित, स्वच्छ र सौन्दर्यपूर्ण बनाउनका लागि यहाँ विविध जातका बोटबिरुवाहरू रोप्दै श्रमदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।

वडाध्यक्ष धर्मप्रसाद दाहालको अगुवाइमा सम्पन्न उक्त कार्यक्रमले गुड मर्निङ रोडको दायाँबायाँ— विशेष गरी रतुवा खोलातर्फको छेउमा सल्ला, धुपी, गुलाब, चमेली, कर्णफूल, बोगनभेलिया लगायतका दर्जनौं जातका फूल तथा रुखहरू रोपिएका छन्। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, टोल विकास समिति अध्यक्ष–सचिव, स्थानीय बासिन्दा, युवा र सञ्चारकर्मीहरू समेतको उल्लेखनीय सहभागिता देखिएको थियो।

 

वडाध्यक्ष दाहालले भने, “रतुवा खोलाको किनारलाई हामीले केवल खोलाको छेउको जमिन भनेर उपेक्षा गर्न मिल्दैन। यो ठाउँलाई नै जीवन्त, हरियाली र गुड मर्निङको स्वागत गर्ने प्रवेशद्वार बनाउने हाम्रो योजना हो।”

गुड मर्निङ रोड, जुन दमकको पश्चिम क्षेत्रमा पर्छ र रतुवा खोलासँग सिधा जोडिएको छ, त्यो क्षेत्र वातावरणीय दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिन्छ। खोलाको बगैंचाजस्तो किनारलाई हरियालीले सजाएर नजिक भविष्यमा वातावरणमैत्री पार्क, साइकल ट्र्याक, खुला व्यायाम स्थल बनाउने योजना पनि अगाडि सारिएको छ। यही क्षेत्रलाई ‘प्राकृतिक फेदीबाट उठ्ने शहरी हरियाली’ को उदाहरण बनाउने उद्देश्य राखिएको छ।

नेपालमा अहिले श्रमदान संस्कृतिले नयाँ युगको सुरुवात गरिरहेको छ। धरानका मेयर हर्क साम्पाङको प्रेरणाले आज देशभर श्रमदान र जनसहभागिताको अभियान फैलिएको छ। दमक–८ को यो कार्यक्रम पनि सोही चेतनाको अनुकरणीय उदाहरण बनेको छ। यिनै श्रमले निर्माण गरिएको विरुवा र वातावरण नै भोलिको दमकको असली धरोहर हुनेछ भन्ने जनविश्वास बढ्दै गएको छ।

‘हरित दमक, समृद्ध दमक’ को नारालाई व्यवहारमै उतार्ने यस्ता अभियानले देशैभरका स्थानीय तहहरूलाई पनि प्रेरणा दिने निश्चित देखिन्छ। अब गुड मर्निङको सुरुवात केवल सडक यात्राबाट होइन, हरियालीको सुगन्धबाट हुने आकलन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय