✍️विनोद थापा “विद्रोही”

दमक, झापा : स्थानीय राजनीति अब नारामा सीमित रहेन, रास्वपा दमक नगर समितिले यही सन्देश दिने गरी ‘घर–घरमा रास्वपा’ अभियान सुरु गरेको छ। अभियानको पहिलो चरण अन्तर्गत, जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने आपतकालीन सम्पर्क नम्बरहरू दमक नगरका प्रत्येक घरसम्म पुर्‍याउने काम सुरु भएको छ।


नगर समितिका सभापति तिर्थ लामिछाने भन्छन् — “हाम्रा नागरिकहरू संकटमा पर्दा घण्टा–घण्टा सरकारी कार्यालयको ढोका कुर्नु नपरोस्। सेवा खोज्दा होइन, सेवा आइपुग्ने अवस्था बनाउँछौं।” यही सोचलाई व्यवहारमा उतार्ने उद्देश्यसहित एम्बुलेन्स, दमकल, इलाका प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी लगायतका सम्पर्क विवरण अंकित स्टिकरहरू जनताको घर–घरमा टाँस्ने काम गरिएको हो।

अभियानमा रास्वपाका कार्यकर्ता, शुभेच्छुकहरू, र स्थानीय नागरिक समाजका प्रतिनिधिहरूको संयुक्त सहभागिता रहेको छ। अभियानसँगै घर–घरमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै राजनीति केवल भाषण होइन, समाधान हो भन्ने सन्देश प्रवाह गरिएको छ।

दमक–९ बाट सुरु गरिएको अभियानमा वडा सभापति केदार बस्नेत स्पष्ट छन् — “राजनीतिमा अब भावुक भाषणको समय सकिएको छ। जनताको ढोका ढकढक्याएर सेवा दिने पार्टी चाहिएको छ, र हामी त्यही काम गर्दैछौं।”

दमक–९ का एक स्थानीय बासिन्दाको भनाइ छ — “पहिले त अप्ठेरो पर्नासाथ फोन नम्बर खोज्नै गाह्रो हुन्थ्यो। अब त घरकै भित्तामा टाँसिएको छ, ढुक्क भइन्छ।”
यस्तो सरल तर गम्भीर कदमलाई नागरिकहरूले खुलेर स्वागत गरेका छन्।

नगर सचिव प्रविण पाठक भन्छन् — “यो एकदिने प्रचार अभियान होइन, यो भविष्यको नक्सा हो। जनतालाई नारा होइन, साथ चाहिएको छ। हामी त्यसैको बाटो हिँड्दैछौं।”
उनका अनुसार, यो अभियानलाई दमकका सबै वडाहरूमा निरन्तरता दिइनेछ। प्रत्येक टोल, घर, बस्तीमा पुगेर रास्वपाको उपस्थितिको महसुस गराइनेछ।

 

सामान्यतया चुनावी बेला मात्रै घर–घर पुग्ने परिपाटीमा रमाउने नेपाली राजनीतिक संस्कृतिलाई रास्वपाले ‘घर–घरमा सेवा, सधैंका लागि राजनीति’ भन्ने मोडलमा रूपान्तरण गर्ने संकेत देखाएको छ। यो अभियान केवल स्टिकर टाँस्ने होइन, राजनीतिक सन्देश छाड्ने बलियो प्रहार हो — कि अब राजनीति जनतासँग संवाद गर्न सिक्नुपर्छ, न कि भाषण दिन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय