देशव्यापी रूपमा सुरु नागरिक बचाउ महाअभियान : दुर्गा प्रसाईंको रिहाइको मागसहित शान्तिपूर्ण आन्दोलन तीव्र
विनोद थापा “विद्रोही”
काठमाडौं, बैशाख ११ – नागरिक बचाउ महाअभियान नेपालले बैशाख ९ गतेदेखि दुर्गा प्रसाईंको रिहाइको मागसहित देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन सुरु गरेको छ। आन्दोलनका प्रारम्भिक कार्यक्रमहरू झापा, उदयपुर, जुम्ला, सुर्खेत, धनुषा, जनकपुर, महोत्तरी, रौतहट, सर्लाही, महेन्द्रनगर, रुपन्देही, पर्वत लगायत जिल्लाहरूमा उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन्।
कार्यक्रम संयोजकहरूले जानकारी गराएअनुसार अब बाँकी रहेका जिल्लाहरू र स्थानीय तहहरूमा पनि आन्दोलनलाई निरन्तरता दिँदै सबै राष्ट्रवादी नागरिकलाई राष्ट्रिय झण्डामुनि एकीकृत गर्दै धर्ना, र्याली, कोणसभा र नाराजुलुसहरू सञ्चालन गरिनेछ।
नागरिक बचाउ महाअभियानका केन्द्रिय अध्यक्ष तथा संयुक्त जनआन्दोलन परिचालन समितिका जनकमान्डर दुर्गा प्रसाईंसहित सम्पूर्ण आस्थाका बन्दीहरूको शीघ्र र ससम्मान रिहाइको प्रमुख माग राखिएको छ।
आन्दोलनका सात मुख्य माग यस प्रकार छन्:
१. दुर्गा प्रसाईंसहित सम्पूर्ण आस्थाका बन्दीहरूको शीघ्र ससम्मान रिहाइ।
२. आन्दोलन नेतृत्वमाथि झूटा मुद्दा लगाई फसाउने षड्यन्त्र र प्रहरी दमनको अन्त्य।
३. राजसंस्था, बौद्ध, किरातसहितको वैदिक सनातन हिन्दू अधिराज्यको पुनःस्थापना।
४. बीस लाख रुपैयाँभन्दा कम ऋण रहेका गरिब जनताको ऋण मिनाहा, र बीस लाखभन्दा बढी ऋणका लागि ५% ब्याजदरमा २५ वर्षमा तिर्ने व्यवस्था।
५. लिलामीमा परेका घर-जग्गाको फिर्ता र बैंकको कालोसूचीमा राख्ने कार्यको अन्त्य।
६. पीडित व्यवसायीहरूका लागि थप सुलभ कर्जाको व्यवस्था।
७. भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही।
यस्ता मागहरूसहितका नाराहरू बोकेर आन्दोलन जारी राखिएको छ। आयोजकहरूले सबै नागरिकलाई शान्तिपूर्ण तरिकाले आन्दोलनमा सहभागी भई राष्ट्रको हितमा आवाज उठाउन आह्वान गरेका छन्।
यो आन्दोलन शान्तिपूर्ण रूपमै अघि बढाइने आयोजकको भनाइ छ। राजनीतिक विश्लेषकहरूका अनुसार यो अभियानले हालको राजनीतिक परिदृश्यमा नयाँ बहसको वातावरण सिर्जना गरेको छ।





