
“मिक्लाजुङले उचाल्यो अध्यक्ष कपको ट्रफी,चुलाचुली घरमै पराजीत”
– विनोद थापा “विद्रोही”
११ वैशाख, चुलाचुली, इलाम – चुलाचुली गाउँपालिकामा सम्पन्न प्रथम अन्तरपालिका स्तरीय अध्यक्ष कप पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि मिक्लाजुङ गाउँपालिका, मोरङले जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा मिक्लाजुङले चुलाचुली ‘बी’ टोलीलाई ट्राइबेकरमार्फत पराजित गर्दै उपाधि चुमेको हो।
निर्धारित समयमा दुबै टिमबीच १–1 गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। निर्णायक पेनाल्टी सुटआउटमा मिक्लाजुङले उत्कृष्ट प्रदर्शन गर्दै चुलाचुली ‘बी’ लाई पछि पार्यो।

बिजेता बनेको मिक्लाजुङ गाउँपालिकाले नगद रु. १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता चुलाचुली ‘बी’ ले नगद रु. ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
चुलाचुली गाउँपालिका स्तरीय युवा तथा खेलकुद समन्वय समितिको आयोजनामा भएको प्रतियोगिता २०८२ वैशाख ३ गतेदेखि सुरु भएको थियो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई जीवन्त पार्दै सञ्चालन गरिएको प्रतियोगितामा जम्मा ८ टिम सहभागी थिए। तीमध्ये २ टिम चुलाचुली गाउँपालिकाबाट र बाँकी ६ टिम छिमेकी पालिकाबाट सहभागी थिए।
फाइनल समारोहमा प्रमुख अतिथि चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ रहनु भएको थियो भने उद्घाटन समारोहमा कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले प्रमुख अतिथिको आसनग्रहण गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्षसहित विभिन्न वडाध्यक्ष, जनप्रतिनिधि, स्थानीय युवा र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समापन समारोहमा अध्यक्ष केरुङले सहभागी सम्पूर्ण खेलाडीहरू, आयोजक, र उपस्थित दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्दै विजेता तथा उपविजेता टिमलाई बधाई दिनुभयो। उहाँले खेलकुदको विकास र युवा प्रतिभा अभिवृद्धिका लागि गाउँपालिकाले सधैं सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै यस्ता प्रतियोगिताले सामाजिक एकता र युवाको नेतृत्व क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।







