विनोद थापा “विद्रोही”
चुलाचुली, वैशाख १६ ।
गत वैशाख ११ गते सम्पन्न अन्तरपालिकास्तरीय ‘चुलाचुली अध्यक्ष कप पुरुष नकआउट फुटबल प्रतियोगिता’मा उपविजेता बन्न सफल चुलाचुलीको खेलाडी टोलीलाई आज विशेष सम्मान गरिएको छ। चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ्गले आफ्नो कार्यकक्षमा बोलाई, खेलाडीहरूलाई मेडल र नगद राशी प्रदान गर्दै हौसला र सम्मान प्रकट गरेका हुन्।


कार्यक्रममा अध्यक्ष केरुङ्गले प्रतियोगिता भरि खेलाडीहरूले देखाएको प्रतिबद्धता, अनुशासन र समर्पणको खुलेर प्रशंसा गरे। “हारजित आफ्नो ठाउँमा हुन्छ, तर फाइनलसम्म पुगेर उत्कृष्ट प्रदर्शन गर्नु नै ठूलो जित हो,” अध्यक्ष केरुङ्गले भने, “यस प्रतियोगिताले चुलाचुलीको युवाशक्ति र खेलकुद संस्कृति झल्काउँछ।”
प्रतियोगिता आठ टोलीहरूको सहभागितामा वैशाख ३ गतेदेखि सुरु भई मिक्लाजुङ, मोरङले उपाधि हात पार्दै वैशाख ११ मा समापन भएको थियो। प्रारम्भदेखि नै चुलाचुली खेलकुद समन्वय समिति र गाउँपालिकाको समन्वयमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता यसपालि विशेष रूपमा शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकहरूले बताएका छन्।

कार्यक्रमका क्रममा अध्यक्ष केरुङ्गले आगामी दिनमा खेलकुद क्षेत्रलाई अझ व्यवस्थित बनाउने प्रतिवद्धता पनि जनाए। उनले भने, “खेलमैदानको मापदण्ड नपुग्दा युवाहरूको गुनासो आइरहेको छ। त्यसैले हामी अब वडा नम्बर ३ मा रहेको चाजो खेलमैदानलाई व्यवस्थित निर्माण गर्ने योजनामा छौँ।”
उनका अनुसार यसअघि पनि एक ठूलो स्तरको साइड ग्राउन्ड निर्माण गर्न खोज्दा केही विवाद उत्पन्न भएको थियो। “हामीले पहिले ठूलो स्तरको स्टुडियम बनाउन खोज्दा केही कानुनी जटिलता आएका थिए,” उनले स्पष्ट पार्दै थपे, “५ देखि १० करोड बजेटको अनुमानसहित नयाँ स्टुडियम निर्माणको प्रयास भइरहेको छ र त्यसको लागि कार्यपालिकाले कानुनी र प्राविधिक पक्षमा छलफल गरिरहेको छ।”
अध्यक्ष केरुङ्गले वर्तमान खेलकुद आयोजनाबाट सिकेका अनुभवका आधारमा आगामी दिनमा आवश्यक खेल तालिम, पूर्वाधार सुधार, र खेलकुद समितिसँग समन्वय गरी व्यवस्थित योजना बनाइने पनि स्पष्ट पारे।

यो सम्मान कार्यक्रम मात्र होइन, चुलाचुलीका युवापुस्ताको क्षमता र भविष्यप्रतिको लगानीको संकेत हो। प्रतिस्पर्धा, अनुशासन र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको यस प्रतियोगिताले समुदायमा सकारात्मक सन्देश फैलाएको छ।
विनोद थापा “विद्रोही”
झापा





