“ब्राइट फ्युचर बाल क्लबको नयाँ कार्यसमिति चयन, वार्षिक उत्सवसहित बहुविध बाल कार्यक्रम घोषणा”
कमल–७, झापा | बैशाख २९, २०८२ 

~विनोद थापा 

श्री ब्राइट फ्युचर बाल क्लब, कमल–७, झापाले नयाँ नेतृत्व चयन गर्दै संस्थाको आगामी कार्यक्रमहरूको औपचारिक घोषणा गरेको छ। २०८२ बैशाख २७ गते शनिबार सम्पन्न एक विशेष भेलाबाट नयाँ मुख्य कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। उक्त भेलामा नौसिटे क्षेत्रका समाजसेवी, अभिभावक, बालबालिका लगायत करिब ६० जनाको सहभागिता रहेको थियो।

नयाँ कार्यसमिति निम्नानुसार चयन गरिएको छः

अध्यक्ष : जङ्ग बहादुर खड्का
उपाध्यक्ष : कौशल पौडेल
सचिव : सबीन नेम्वाङ
सह-सचिव : दीक्षा ढकाल
कोषाध्यक्ष : हर्क बहादुर खाती
सदस्यहरू : आकृति कोइराला, अनुकूल दंगाल, राज ढुंगाना, सिद्धिका नेपाली

समितिको गठनसँगै क्लबले आउँदो जेष्ठ १५ गते चौथो साधारणसभा तथा छैटौँ वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा मनाउने निर्णय समेत गरेको छ। सोही दिन क्लबका सम्पूर्ण उपसमिति गठन गरिने जनाइएको छ।

बालबालिकालाई सशक्त बनाउने उद्देश्यले सञ्चालन हुने कार्यक्रमहरूः

भविष्यका कर्णधार बालबालिकालाई सिर्जनशील, आत्मनिर्भर र प्रतिभाशाली बनाउन क्लबले प्रत्येक शनिबार विशेष बाल कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। हालसम्म तय भएका कार्यक्रमहरू यसप्रकार छन्:

२०८२ जेष्ठ ३ गते, शनिबार:
ठूला बालबालिकाहरूका लागि नेपाली तथा अंग्रेजी दुवै भाषामा ह्यान्डराइटिङ प्रतियोगिता
सानातर्फ ABCD लेखन अभ्यास प्रतियोगिता
२०८२ जेष्ठ १० गते, शनिबार:
ठूला सदस्यहरूका लागि म्युजिकल चेयर प्रतियोगिता र नृत्य प्रस्तुति
सानातर्फ १ देखि १०० सम्म अंक लेखन प्रतियोगिता
२०८२ जेष्ठ १५ गते, गणतन्त्र दिवसको अवसरमा:
अभिभावकहरूका लागि सियो उनाउने प्रतियोगिता
सोही दिन क्लबका कार्यक्रमहरूको समापन तथा विजेताहरूलाई पुरस्कार वितरण गरिनेछ।

सामाजिक सहभागिता र सहयोगको आह्वान

गणतन्त्र दिवसको अवसर पारेर हुने यस विशेष समारोहमा कमल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सम्पूर्ण वडाध्यक्ष, टोल विकास संस्थाका प्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, पत्रकार तथा समाजसेवीहरूलाई विशेष आमन्त्रण गरिएको क्लबले जनाएको छ।

यसका साथै, क्लबको स्वामित्वमा रहेको जग्गामा भवन निर्माणका लागि आर्थिक सहयोग संकलन अभियान पनि सोही दिन औपचारिक रूपमा शुभारम्भ गरिने छ। “स्थायित्वसहितको संस्थागत संरचना निर्माण हाम्रो प्राथमिकता हो,” भन्दै क्लबले सार्वजनिक रूपमा सबैलाई आर्थिक सहयोगका लागि अपील गरेको छ।

कार्यक्रम संयोजक तथा संस्थापक सल्लाहकार हेमराज भण्डारीका अनुसार क्लबले समाज, अभिभावक र बालबालिकाबीच समन्वय गर्दै सिर्जनशील र अनुशासित पुस्ता निर्माणमा अग्रसर हुने लक्ष्य लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय