दमक, झापा – दमक एक्सप्रेस

विनोद थापा २०८२/०१/३१ 

दमक–४ स्थित कृष्ण मन्दिर परिसरमा विद्यालक्ष्मी एजुकेसन फाउन्डेसनको आयोजनामा तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य प्रवर्द्धन शिविर सम्पन्न भएको छ। “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मूल नारासहित आयोजित शिविरमा विद्यालयका विद्यार्थी मात्र नभई अभिभावकहरूको समेत उत्साहजनक सहभागिता देखिएको थियो।

शिविरमा प्रमुख अतिथिका रूपमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका वरिष्ठ उपाध्यक्ष महेश थापा सहभागी रहे। कार्यक्रममा उनले स्वास्थ्यको महत्त्वबारे धारणा राख्दै बालबालिकाको स्वास्थ्य प्रतिको सचेतनाले समग्र समाजलाई दिगो र सक्षम बनाउन सकिने उल्लेख गरे। उनले आयुर्वेदिक चिकित्सा प्रणालीको वर्तमान सन्दर्भमा बढ्दो भूमिका र महत्त्वबारे पनि प्रकाश पारे।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, कोशी प्रदेश अध्यक्ष बैजनाथ शाहले स्वास्थ्य प्रवर्द्धन सम्बन्धी प्रयोगात्मक जानकारी दिनुका साथै सहभागीहरूलाई प्राथमिक स्वास्थ्य जाँचका आधारमा रोगको पहिचान र रोकथामसम्बन्धी व्यावहारिक सुझावहरू प्रदान गरे।

 

शिविरको संचालन विद्यालयका प्रधानाध्यापक केशव राईले गरेका थिए। विद्यालयका सञ्चालक प्रविन चाम्लिङले मन्तव्य दिँदै यस्तो खालको कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई दीर्घकालीन रुपमा लाभ पुर्‍याउने बताए। उनले शिक्षा र स्वास्थ्यलाई एकसाथ अघि बढाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरे।

शिविरमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रिय सदस्य उर्मिला ढकाल, उपाध्यक्ष श्यामकुमार श्रेष्ठ, कोशी प्रदेश सचिव दिपक भुजेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणको रूपमा सुनसरी जिल्ला अध्यक्ष तथा आयुर्वेद चिकित्सक विपेन्द्र पुर्वेले सयौं सहभागीको प्राथमिक स्वास्थ्य जाँच गरी आवश्यक परामर्शसहित निःशुल्क औषधि वितरण गरेका थिए। उनले दैनिक जीवनशैलीमा सुधार ल्याएर रोगहरूबाट सजिलै जोगिन सकिने बताए।

 

शिविरमा विभिन्न स्वास्थ्य परीक्षण, औषधि वितरण, खानपान तथा जीवनशैली सम्बन्धी सुझावहरू प्रदान गरिएको थियो। विद्यार्थीहरूका साथै अभिभावकहरूले शिविरलाई अत्यन्त उपयोगी र ज्ञानवर्धक बताउँदै यस्ता कार्यक्रम निरन्तर रूपमा आवश्यक रहेको बताएका थिए।

कार्यक्रमले शिक्षा र स्वास्थ्यको समायोजनमार्फत सामुदायिक चेतना अभिवृद्धिमा टेवा पुर्याउने आशा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय