विराटनगर, भदौ – ४ —विनोद थापा “विद्रोही”
संघर्ष समिति नेपाल, कोशी प्रदेश, मोरङ जिल्ला कार्यसमितिको आयोजनामा विराटनगरस्थित कोशी प्रदेश प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालय अगाडि बिहीबार सयौं महिला वित्तीय पीडितहरूले शान्तिपूर्ण विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम सम्पन्न गरेका छन्।

“महिला अधिकारका लागि संघर्ष गरौँ, आर्थिक क्रान्तिको लागि जनआन्दोलनमा जुटौँ” भन्ने मूल नारासहित आयोजित प्रदर्शनमा लघुवित्त तथा वित्तीय संस्थाबाट शोषणमा परेका महिला पीडितहरूको ठूलो उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी महिलाहरूले सरकारको ढिलासुस्ती र उदासीनताप्रति रोष प्रकट गर्दै न्याय पाउन संघर्ष जारी राख्ने प्रतिवद्धता जनाए।
कार्यक्रमको नेतृत्व संघर्ष समिति कोशी प्रदेश अध्यक्ष लुजा राईले गरेकी थिइन्। उनले पीडित महिलाहरूको आवाजलाई बेवास्ता गर्ने सरकारप्रति कडा आपत्ति जनाउँदै भनिन् ।

“हाम्रो मागहरू तत्काल पूरा गरिनुपर्छ। पीडित महिलाहरूको रगत–पसिनाको कमाइलाई ऋण र चर्को ब्याजको नाममा लुट्ने खेल अब चल्दैन। सरकार मौन बसिरह्यो भने हामी निर्णायक जनआन्दोलनमा उत्रिन बाध्य हुन्छौं।”
१८ बुँदे मागको प्रस्तुतिः
संघर्ष समितिले सरकारसँग १८ बुँदे माग प्रस्तुत गरेको छ। प्रमुख मागहरूमा—
अत्यधिक ब्याजदर र सेवाशुल्क नियन्त्रण,
अस्वस्थ प्रतिस्पर्धा गर्ने लघुवित्त संस्थामाथि कारबाही,
कालोसूची फुकुवा र ऋण पुनर्संरचना,
पीडितलाई न्याय र राहतको व्यवस्था,
वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको पहल,लगायतका विषय समावेश छन्।
सरकारले यी मागहरू तत्काल सम्बोधन नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी प्रदर्शनले स्पष्ट गरेको छ।
लघुवित्त पीडितहरूको आन्दोलन कुनै नयाँ होइन। यसअघि पनि देशका विभिन्न भागमा महिलाहरू सडकमा उत्रिँदै आएका छन्। २०८० सालमा सरकारले आन्दोलनरत पक्षसँग ६ बुँदे सहमति गरेको थियो। तर, त्यसपछि समेत मागहरू कार्यान्वयनमा नआएको भन्दै आन्दोलन फेरि चर्किएको हो।

विशेषगरी, ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई ऋणको नाममा गरिएको चर्को ब्याज असुली र धम्कीपूर्ण व्यवहारले आन्दोलन थप व्यापक बन्न पुगेको छ।
विराटनगरको शान्तिपूर्ण विरोध कार्यक्रमले फेरि एकपटक स्पष्ट सन्देश दिएको छ—
“महिलामाथि आर्थिक शोषण अब सहिँदैन।”
सरकारले समयमै १८ बुँदे माग सम्बोधन नगरे, संघर्ष समिति नेपालले अझ ठुलो र निर्णायक आन्दोलनमार्फत वित्तीय पीडितहरूको न्यायको लडाइँलाई नयाँ मोड दिने संकेत देखाएको छ।





