मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब उपलब्ध गराउने प्रतिबद्धता स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले व्यक्त गर्नुभएको छ।
शनिबार मधुमल्ला बाल अस्पतालको भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठन (WHO) सँग सम्झौता भएका एक सय ल्याबमध्ये एक ल्याब मिक्लाजुङ अस्पताललाई उपलब्ध गराइने घोषणा गर्नुभयो। उहाँले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार सरकारको प्राथमिकता भएको उल्लेख गर्दै मधुमल्ला अस्पतालले दिइरहेको गुणस्तरीय सेवाको प्रशंसा गर्नुभयो।

सो अवसरमा गाउँपालिका अध्यक्ष बबिकुमार राईले अस्पतालमा दन्त उपचार सेवा शीघ्र सुरु हुने जानकारी दिनुभयो। उपाध्यक्ष दिनेश पौडेलले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर काम भइरहेको प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा मधुमल्ला अस्पतालका लागि जग्गा प्रदान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो। संघीय मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा करिब १ करोड ९८ लाख ६१ हजार २ सय ८३ रुपैयाँ लागतमा बालमैत्री अस्पताल भवन निर्माण सम्पन्न भएको हो।





