काठमाडौं– ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारसँग भइरहेको वार्ता विफल भएको संकेत गरेका छन् । सरकारसँग वार्ता नमिले प्रसाईसहित ३० भन्दा जेनजी र नयाँ–पुराना दलपनि उनीसँग मिलेर निर्वाचन बिथोल्न सक्ने सुरक्षा विश्लेषण छ ।

प्रसाईले प्रधानमन्त्री सुशीला कार्कीसँग तीन पटक भेटवार्ता गरे । तर प्रधानमन्त्रीसँगको छलफलबाट आफ्नो महाअभियानले राख्दै आएका माग सम्बोधन हुने सम्भावना नदेखिएको भन्दै प्रसाईंले फागुन १ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् । ३० वटाभन्दा जेनजी समुह राखेर उनले आन्दोलनको घोषणा गरे ।

पुस १७ मा सिंहदरबारमा भएको दुईपक्षीय छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी थिए । त्यस दिन प्रसाईंतर्फका प्रतिनिधिहरू पनि सहभागी थिए । प्रसाईको महाअभियाानमा २१ लाख जति सदस्य रहेका छन् ।

संघीयता, धर्मनिरपेक्षता र राजतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने माग राखेका प्रसाईंले फागुन १ देखि देशभर प्रदर्शन र चक्काजाम गर्ने घोषणा गरेका छन् । सुरक्षा निकायले प्रसाईंको समूहलाई मात्र नभएर केही नयाँ र पुराना दलहरुलाई पनि सुरक्षा चुनौतीको रुपमा विश्लेषण गरेको छ । प्रसाईसँग नयाँ र पुराना दलको पनि सहयोग हुने प्रहरीकै विलेश्षण छ ।

प्रसाईसँग जेनजीले सहकार्य गरेपछि चुनाव बिथोल्न सक्नेबारे उच्च तहमा लामो सयमदेखि छलफल भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तर एकीकृत सुरक्षा योजना तयार गर्दा नै दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ले निर्वाचन बिथोल्न सक्ने सुरक्षा विश्लेषण गरिएको थियो ।

मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षा व्यवस्थापनमा १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना लिन दरखास्त आह्वान भइसकेको छ । प्रसाईं निकट माधव खतिवडाले निर्वाचन आयोगमा नागरिक बचाउ दल दर्ता गराएका छन् । तर यो दल निर्वाचनमा जाने पक्षमा छैन ।

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन आयोग र सरकारका निकायहरुले चुनावको तयारी तीव्र पारिरहेका छन् । चुनावमा चारवटा सुरक्षा निकायका ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालन गरिँदैछ । ८० हजार सेना पनि निर्वाचनमा परिचालन हुँदैछन् । यसैबिच, प्रसाईंको घोषणा सुरक्षाको दृष्टिकोणले कति ‘चुनौतीपूर्ण’ बन्नसक्ला भन्ने प्रश्न उठेको छ ।

प्रसाईको साथमा ३० भन्दा बढी जेनजी समुह रहेको र यसमा जेनजी असन्तुष्टको संख्या बढ्ने प्रहरीको भनाइ छ । प्रसाईलाई सरकारले गत मंसिरमा पक्रिएपछि उनको क्रेज बढेको र जनताले अहिले प्रसाईका माग ठिक भन्न थालेको प्रहरीकै विलेश्षण छ । प्रसाईसँग आन्तरिक रुपमा जनताको साथ राम्रै भएको र उनको समर्थन पनि बढ्दै गएको प्रहरीकै विलेश्ष्ण छ ।

प्रधानमन्त्री कार्की र प्रसाईंबिच मंसिर २२ मा पहिलोपटक बालुवाटारमा भेटवार्ता भएको थियो । त्यस दिन प्रसाईंले प्रधानमन्त्रीलाई बुद्धको मूर्ति उपहार दिएका थिए । दोस्रोपटक पुस १५ मा भेट्दा प्रधानमन्त्री कार्कीले प्रसाईंलाई बुद्धको फ्रेम उपहार दिइन् ।

आफ्ना माग पूरा गर्न सरकार राजी नभएपछि प्रसाईंले आन्दोलनको बाटो रोजेका हुन् । प्रसाईंले संविधान संशोधन र अन्तरिम संविधान बनाएर मात्र चुनावमा जानुपर्ने बताएका छन् । सरकारसँग भएको वार्तामा प्रसाईंले राखेको व्यवस्था परिवर्तन र २० लाख रुपैयाँसम्मको ऋण मिनाहा लगायत मागमा सहमति नजुटेको सरकारी पदाधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय