“आमाको मुहारमा मेरो यात्रा”

आमा, तिम्रो मुख र नदी उस्तै लाग्छ—मलाई,
जहाँ मायाको संगीत अविरल बगिरहन्छ,
जहाँ आशीर्वादको अथाह समुद्र लहराउँछ,
र जहाँ मेरा सारा थकानहरू धोइन्छन्।

आज तिम्रो मुहारमा मैले मेरो हराएको अनुहार भेटें,
तिम्रो ओठका रेखाहरूमा मेरा नामका बाछिटाहरू भेटें,
र तिम्रा आँखाहरूमा, कयौँ चोटि दुःख र सुखमा
आह्वान गरिएका मेरो स्वरको प्रतिध्वनि सुनेँ।

तर तिम्रो अनुहारमा तिमीलाई कतै भेटिनँ, आमा—
मात्र भेटें, मेरो लागि मारेका सपनाहरू,
भित्रभित्रै बाँचिरहेका हजारौँ आसाहरू,
जसलाई हेर्न तिम्रा आँखाहरू वर्षौँदेखि पर्खिरहेका छन्।

संसारका सबै फूलहरू, सबै नदीहरू, सबै जूनहरू—
सबै तिमीभित्र समेटिएको जस्तो लाग्छ।
आमा, तिमी मेरो अस्तित्वको पहिलो र अन्तिम किनारा हौ,
आमा तिमी मेरो पहिलो प्रेमिका, पहिलो प्यार हौ।

आमा,,
आँखा वारि देखेँ, आँखा पारि देखेँ,
तिम्रो निधारमा मेरो चिनारी देखेँ।
आँखा वारि देखेँ, आँखा पारि देखेँ,
खुसी किनेर आँसु बेच्ने एक अद्भुत व्यापारी देखेँ।

जब थाक्दै थिए तिम्रा पैतालाहरू,
काँधमा घरको सम्पूर्ण जिम्मेवारी देखेँ।
आँखा वारि देखेँ, आँखा पारि देखेँ,
कहिले रक्ताम्य त कहिले सुख्खा बारी देखेँ।
आमा,,
फूलबारीभित्र पनि तिम्रो काँडाघारी देखेँ।

खोला वारि देखेँ, खोला पारि देखेँ,
तिम्रा पैतलाका डाम मेरो यात्राका बाटाभरि देखेँ।
कहिले परी देखेँ, कहिले झरी देखेँ,
आमा, यी सबै तिमीभित्र, घरीघरी देखेँ।

तिमी त्यो मुहार हौ—
जहाँ थकान ओतप्रोत हुन्छ,
तर मुस्कान कहिल्यै ओइलाउँदैनन।

आमा, तिमी फूलभन्दा कोमल,
पहाडभन्दा बलियो,
आकाशभन्दा विशाल छौ।
तिम्रो मायाले मेरो सिंगो अस्तित्व थामेको छ।

जब जीवन कठिन लाग्छ,
म तिमीलाई सम्झन्छु,
तिम्रो हाँसो सम्झन्छु,
र फेरि उठ्छु, अडिन्छु—

अनि तिम्रो अनुहार हेरेर हिड्छु
नयाँ उज्यालोको खोजीमा।

#Happy_Mothers_Day_All_Of_You…💐☘️✨

 ✍️विनोद थापा “विद्रोही”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय