✍️विनोद थापा “विद्रोही”

झापा, दमक — करिब आठ वर्षको अन्तरालपछि नेपाली चलचित्रमा दमदार कमब्याक गरेका महानायक राजेश हमाल अभिनीत चलचित्र ‘नरसिंहा’ पूर्वी नेपालमा समेत दर्शकबीच व्यापक चासो र लोकप्रियता बटुल्न सफल भएको छ।

दमकस्थित डिमाक्स सिनेमा हलमा आयोजित विशेष कार्यक्रममार्फत ‘नरसिंहा’ टिमलाई भव्य स्वागत र सम्मान गरिएको छ। हल भ्रमण अन्तर्गत पूर्वको प्रमुख शहर विर्तामोड हुँदै दमक आएका कलाकारहरूले दर्शकसँग संवाद गर्दै चलचित्रको सन्देश र अनुभव बाँडे।

सञ्चारकर्मीहरूसँगको छोटो भेटघाट कार्यक्रममा महानायक राजेश हमालले दमकमा आफू पहिले पनि आएको तर अहिलेको विकास र परिवर्तन देख्दा अचम्म लागेको प्रतिक्रिया दिए। “दमक डिमाक्स हलमा पहिलो पटक पाइला टेकेको छु, दर्शकको माया र सद्भाव पाउँदा अत्यन्तै खुसी लागेको छ,” हमालले भने।

चलचित्र ‘नरसिंहा’ सामाजिक र राजनीतिक विद्रोहको कथामा आधारित रहेको उल्लेख गर्दै एक पत्रकारले राजनीति प्रवेशको सम्भावनाबारे प्रश्न गर्दा हमालले भविष्यमा सम्भावना नकार्न नसकिने संकेत गरे। “राजनीति गर्नुपर्ने व्यक्तिहरु असक्षम भएका छन्, त्यसैले अब विकल्प खोज्नुपर्छ भन्ने आवाज उठेको हो,” उनले भने। उनले प्रधानमन्त्रीको गृह जिल्लामा हुनुको सन्दर्भमा पनि प्रतिक्रिया दिँदै भने, “यो हामी सबैको आगन हो। देश कसैको व्यक्तिगत सम्पत्ति होइन।”

चलचित्रकी मुख्य अभिनेत्री सनिसा भट्टराईले महानायकसँग काम गर्ने अवसर पाउनु आफूका लागि गर्वको क्षण भएको बताइन्। “राजेश हमालजस्तो कलाकारसँग स्क्रिन शेयर गर्नु आफैमा सौभाग्यको कुरा हो, दर्शकबाट पनि राम्रै प्रतिक्रिया पाइरहेका छौँ,” उनले भनिन्।

नायक राज कटुवालले ‘नरसिंहा’ चलचित्रलाई सम्पूर्ण नेपाली दर्शकले एकपटक अवश्य हेर्नु पर्ने बताए। “नेपाली चलचित्रको स्तर अब बदलिँदैछ, हामीले आफ्नो सिनेमालाई माया गर्नुपर्छ,” उनले आह्वान गरे।

राजेश हमालको लामो समयपछि पर्दामा कमब्याकसँगै हल भ्रमणमा सशक्त उपस्थितिले दर्शकलाई झनै उत्साहित बनाएको देखियो। दमक डिमाक्स हलमा उनलाई स्वागत गर्न सयौँ दर्शक उपस्थित थिए, जसमा फोटो खिच्न, अंकमाल गर्न चाहनेहरुको भिड बाक्लो मात्रामा थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय