काभ्रेपलाञ्चोक, साउन ६ / २०८२ 

विनोद थापा विद्रोही”

एक दशकभन्दा बढी समयदेखिको प्यास, प्रश्न र प्रतीक्षालाई अन्ततः उत्तर मिलेको छ। जन्मदिने तर बीच बाटोमै छोडेर हिँडेको बाबुको मुख नदेखेकी बालिका आज १८ वर्ष पुगेर पहिलोपटक आमाको काखमा बेरिएकी छिन्। यो भावुक र विस्मयकारी कथा हो — स्वस्तिका केसीको।

२०८२  सालको एक साउन साँझ। सामाजिक अभियन्ता अर्जुन भुसालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका एउटा भिडियोले वर्षौंदेखि हराएको नाता जोडिदिएको छ। भिडियोमा एक नाबालिका अब युवती भइसकेकी — स्वस्तिका, आमाबाबुको खोजी गरिरहेकी थिइन्। १४ वर्षअघि धुलिखेलको सडकछेउमा बाबुले छोडेर हिँडेकी नानी आज आमाको अँगालोमा बेरेर रोएकी छिन्।

१४ वर्षअघिको त्यो दिन…

सन् २०११, वैशाख १७ गते। धुलिखेल नगरपालिका-७ को सडक छेउ। “खानेकुरा ल्याइदिन्छु, तिमी यहीँ बस,” भनेर बाबुले बालिका स्वस्तिकालाई त्यहीं छाडे। त्यो नै अन्तिम भेट थियो। बाबु फेरि फर्किएनन्।
त्यस दिन एकजना स्थानीय महिला राधा माकजुले बालिकालाई सडक छेउ रोइरहेको अवस्थामा भेटिन्। उनले एक वर्षसम्म आफ्नै साथमा राखी स्कुल भर्ना गराइन्। तर, पछि विदेश जान लागेपछि बालिकालाई धुलिखेलमै रहेको सिद्धार्थ बालगृहमा बुझाइन्।

बालगृहदेखि पुनर्मिलनसम्मको संघर्ष

सिद्धार्थ बालगृहकी सञ्चालक शर्मिला श्रेष्ठका अनुसार, बालगृहमा रहँदै स्वस्तिकाले कक्षा १० सञ्जीवनी नमुना माविमा पढिन् र प्लस टु बनेपाको आदर्श विद्यामन्दिरमा सम्पन्न गरिन्। जब नागरिकता बनाउने कुरा आयो, तब स्वस्तिकाले आमा–बुबाको खोजीमा लागिन्।

सञ्चालक श्रेष्ठले नसकेपछि यो जिम्मेवारी सामाजिक अभियन्ता अर्जुन भुसाललाई दिइन्। अर्जुनले तत्कालै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरे, जसले आशातीत परिणाम दियो।

अश्रुपूरित भेट : चितवनमा आमाको अँगालो

भिडियो हेरेपछि चितवनकी मञ्जु केसी, जो अहिले अर्को परिवारसँग बस्दै थिइन्, अर्जुनलाई सम्पर्क गरिन्। उनले स्पष्ट भनिन्, “म मेरी छोरीलाई भेट्न चाहन्छु।”
त्यसपछि अर्जुनले स्वस्तिकालाई लिएर चितवन लगे। त्यहाँ, १४ वर्षपछि आमाछोरीको पुनर्मिलन भयो। स्वस्तिकाले पहिलोपटक आमाको अनुहार देखिन्, अँगालोमा बेरिइन्।

आफ्ना अनुभव बताउँदै स्वस्तिकाले  नेपालएक्स्प्रेस मिडियलाई भनिन्, “एकदम खुसी लाग्यो, नसोचेको भयो। मैले ममी भेट्छु भनेर सोचेकी थिइनँ। भेट्दा आँसु आयो। म त सक्भएँ।”

स्वस्तिकाको बाल्यकालको पीडा र आमाबुबाको अलगाव

स्वस्तिकाकी आमा मञ्जु केसी र उनका बाबुबीचको सम्बन्ध निक्कै पीडादायी थियो। निरन्तर टर्चर, अपमान र हिंसाबाट त्रसित भएर मञ्जुले घर छाडिन्। माइती नभएकी उनी चितवन पुगेपछि अर्को विवाह गरेर स्थायीत्व बनाइन्।

त्यसपछि स्वस्तिकाका बाबुले पनि दोस्रो विवाह गरे। यहीबीच उनले सानी छोरीलाई धुलिखेलमा अलपत्र छोडे। १४ वर्षसम्म न बाबुले खोजे, न सम्पर्क गरे।

पिताको खोजी अझै जारी

स्वस्तिकाको आमासँग पुनर्मिलन भइसकेको छ। तर उनको मनमा एउटा गहिरो प्रश्न बाँकी छ — “बुबा किन छाडेर हिँडे? अहिले कहाँ हुनुहुन्छ?”
सामाजिक अभियन्ता अर्जुन भुसाल अहिले बाबुको खोजीमा लागिरहेका छन्। अमलेखगञ्जमा केही मानिसहरूले उनलाई चिनेजस्तो गरेका छन्। “केही समयअघिसम्म उहाँ ट्रकमा टोकन लगाउने काम गर्दै हुनुहुन्थ्यो भन्ने खबर आएको छ,” अर्जुन भन्छन्, “त्यसैले म त्यतातिर खोज्न जाँदैछु।”

एक पुनर्मिलन, एक अधूरो आश

स्वस्तिकाको आमासँग भेट हुँदा पूर्णता महसुस गरे पनि उनको बाल्यकालमा बाबुको अनुपस्थितिले गहिरो घाउ छोडेको छ।
अब उनी चाहन्छिन्, आफ्ना बाबुसँग पनि भेट होस् — आँखा आँखामा हेरेर सोध्न सकुन्: “किन छाडेर हिँड्नु भएको थियो?”

स्वस्तिकाको कथा केवल एउटी छोरीको आमासँग पुनर्मिलनको मात्र होइन, एक पीडादायी विछोड, संस्थागत संरक्षण, सामाजिक संलग्नता र प्रेमको पुनर्जन्मको कथा हो।
यो कथा आजका हजारौं बालबालिकाको प्रतिनिधि कथा हो — जसलाई घर, आमाबुबा र मायाको अभावले हुर्काइरहेछ। समाजले अझै यस्ता विछोडिएका नाता खोजेर जोड्न सक्यो भने, धेरै स्वस्तिकाहरूको जीवन फेरिन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय