संयुक्त नागरिक पार्टीले भारत र चिनबीच नेपाली भूमि लिपुलेकमा भएकाे ब्यपारिक सम्झाैताप्रति आपत्ति जनाएकाे छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय विजुलीबजारमा बसेकाे पदाधिकारीकाे बैठककाे निर्णयले प्रेस विज्ञप्ति जारी गरि खेद ब्यक्त गर्दै उक्त कदमकाे घाेर भर्त्सना समेत गरेकाे छ । अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ “भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार श्री अजित डोभालको
निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरबीच वार्ता भई गरिएको १२ बुँदे सहमतिको ९ नम्बर बुँदामा नेपाली भूमि लिपुलेक पास, शिम्किला पास र नाथुला पास मार्फत सिमापार व्यापार पुनः शुरु गर्न गरिएको सहमतिप्रति हाम्रो “संयुक्त नागरिक पार्टी” र नेपाली जनताको गम्भीर ध्यानाकर्षण भएकाे छ ।”
२०७२ सालमा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा दुवै मुलुकबीच लिपुलेकलाई व्यापारिक तथा तीर्थयात्री आवतजावतको केन्द्र बनाउने सहमति भएको थियो र सो समय देखिनै नेपाली जनता तथा राजनीतिक दलहरूले त्यसप्रति कडा आपत्ति जनाउँदै आएका छौं । पछिल्लो समय पुनः नेपाललाई वेवास्ता गरी साेही सहमति दोहोरिनु नेपालको सार्वभौमसत्ता, राष्ट्रियता र सार्वभौमिक अखण्डता माथिको ठाडो हस्तक्षेप मात्र नभई अन्तर्राष्ट्रिय आचारसंहिताको समेत उल्लङ्घन हो

नेपालको सार्वभौम र अखण्ड भूभागका बारेमा दुई देश बीच सिमापार व्यापार पुनः सुरु गर्ने सहमति गर्दा नेपाल र नेपाली जनतालाई सुचना समेत नदिनुले यी दुई देशको अहंकार, हस्तक्षेपकारी एवं अतिक्रमणकारी रवैया उजागर भएको छ । हाम्रो देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता माथिको आक्रमणको संयुक्त नागरिक पार्टी घोर निन्दा र भर्त्सना गर्दछ ।
दुई देशका विदेश मन्त्रीहरुबीच गरिएको अन्यायपुर्ण र राष्ट्रघाती सहमतिलाई तत्काल फिर्ता लिन चीन र भारत सरकारलाई हामी विशेष अपिल गर्दछाैं साथै सो सहमति खारेजीका निम्ति पहल कदमी लिन नेपाल सरकारसंग जोडदार माग गर्दछौँ भनी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
यस विषयमा संयुक्त नागरिक पार्टी निम्न धारणा स्पष्ट रूपमा प्रकट गर्दछः
१. लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूभाग हुन्। यससम्बन्धी कुनै पनि वैदेशिक सम्झौता वा सहमति नेपाल सरकार र सम्बन्धित विज्ञहरुको सहभागिता र अनुमोदन विना वैधानिक हुन सक्दैन भन्ने ठहर गर्दै खबरदारी गर्न चाहान्छौं ।
२. नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । भौगोलिक रूपमा सानो वा आर्थिक रूपमा कमजोर हुनु कमजोरी होइन। नेपाल आफ्नो भाैगाेलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र भविष्यको पिंढीप्रति जिम्मेवारीमा कुनै हालतमा सम्झौता गर्न हुन्न,हाम्रो देशको कुनैपनि भुमि र अस्मिता माथिकाे हानी-नाेक्सानी हामीलाई मान्य हुन्न त्यसका लागि खबरदारी गर्न चाहान्छौं ।
३. छिमेकी मुलुक भारत र चीनबीचको आपसी सम्बन्ध, व्यापारिक सहकार्य र सांस्कृतिक आदान–प्रदानलाई हामी संयुक्त नागरिक पार्टी सहित आम नागरिक सकारात्मक दृष्टिले शुभकामना र शुभेच्छा राख्दछौं । तर ती सम्बन्धहरूले नेपालको सार्वभौम अधिकार, सीमाको अखण्डता वा राष्ट्रिय पहिचानमाथि अतिक्रमण गर्ने अधिकार कुनै शक्ति माथि हुनेछैन र हुन दिनेछैनौं।
४. यदी कैलाश–मानसरोवर यात्राको व्यवस्थापन, सीमा व्यापार विस्तार वा रणनीतिक क्षेत्र प्रयोग गर्ने भए अन्तर्राष्ट्रिय नियम कानुन अनुसार यस्ता गम्भीर विषयमा विज्ञ सहित (नेपाल–भारत–चीन) बीच त्रिपक्षीय सहमति गर्न आवश्यकता छ । यसर्थ त्रिपक्षीय सहमति बिना कुनै पनि काम कार्वाही अघि नबढाउन जोडदार माग गर्दछौं ।
५. भारत र चीन हाम्रा छिमेकी मुलुकसंग हामी संयुक्त नागरिक पार्टी द्वारा नेपाल सरकारलाई आग्रह गर्दछौ कि यस विषयमा उच्चस्तरीय वार्ताको पहल गरियाेस्, अन्तर्राष्ट्रिय कूटनीतिक , विषय विज्ञ र संयन्त्र परिचालन गरेर तत्काल नेपालको स्पष्ट नीति धारणा सार्वजनिक गर्न जोडदार माग गर्दछौं ।
६. देशको सीमा सुरक्षा मजबुत र बलियो बनाउन,
सम्बद्ध भू–क्षेत्रमा भौतिक उपस्थिति विस्तार गर्न र तथ्य–प्रमाणसहित अन्तर्राष्ट्रिय स्तरमा निरन्तर आवाज उठाउन नेपाल सरकार समक्ष सुझाव राख्दछौं।
७. संयुक्त नागरिक पार्टी नेपालका आम नागरिकको भावना,चाहनालाई प्रतिविम्बित गर्दै पार्टी र आम नागरिकको तर्फबाट छिमेकी मुलुक भारत र चीन दुबै मुलुकलाई स्पष्ट गर्न चाहान्छौं की , लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग हुन्। यसको दीर्घकालीन समाधान शान्तिपूर्ण कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय कानुनी मान्यताअनुरूप समाधान हुनुपर्छ ।
संयुक्त नागरिक पार्टी यस घटनाप्रति खेद प्रकट गर्दै साे सहमति तत्काल खारेज गर्न/गराउन कुटनैतिक पहल कदमी लिन नेपाल सरकार,परराष्ट्र मन्त्रालयलाई जोडदार आग्रह गर्दछौं ।







